Wednesday, May 4, 2016

-सानो लिङ्गले महिलालाई धेरै सन्तुष्टी दिने एक मात्रा उपाय.. जानी राखौ..

सेक्ससमस्या होइन, समस्या व्यक्तिको आफ्नै कुण्ठा हो । कोही लिंगको आकार सानो भएको कुण्ठामा रुमलिएका छन् भने कोही छातीका दाना साना भएका चिन्ताले ग्रस्त छन् । शताब्दीयौँदेखि 'मोरल पुलिसिङ'को एक मात्र काम गरिरहेका सरकार र सामाजिक संस्थाहरूको अत्याचारमा मानिसहरू बिस्तारै खुल्न थाल्दा अनेक समस्या देखिनु स्वभाविक हो । यसपटक सेक्सकाबारे चल्दै आएका भ्रमलाई चिर्दै छन् राजन नेपाल ।


यही असारभित्र विवाह बन्धनमा बाँधिन लागेका २७ वर्षीय एक शहरिया र शिक्षित युवक यौन विशेषज्ञकहाँ पुग्छन् । देशविदेश घुमेका उनी धेरै कुरासँग परिचित छन् । तर, उनलाई एउटा कुराले साह्रै नराम्रोसँग पिरोलिरहेको छ । उनी असाध्यै अशान्त छन्, छटपटाइरहेका छन् । सेक्सका बारेमा उनले प्रशस्तै पढेका पनि छन् । उनलाई लाग्छ- उनको लिंग सानो छ । श्रीमतीलाई कसरी सन्तुष्टि दिने होला ? यही प्रश्नले उनलाई भित्रभित्र खाइरहेको छ । यौन विशेषज्ञले कुनै उपाय सुझाउँछन् कि भन्ने आश छ उनलाई ।

भर्भराउँदो जवानी चढिसक्दा पनि चौबिस वर्षीया सीमा (नाम परिवर्तन) का स्तन आलुबखडाका दाना जत्रा छन् । अरूका पुष्ट स्तन देख्दा उनी हीनताबोधले खङ्रङ हुन्छिन् । रातारात भोगटेजत्रो स्तन बनाउने भनी पत्रपत्रिकामा छापिने विज्ञापनमा उनलाई विश्वास छैन । त्यसैले उनी पनि महिला यौन विशेषज्ञकहाँ स्तनको आकार बढाउन सकिन्छ कि भनेर पुगेकी छिन् । विवाहपछि श्रीमान्लाई स्तन सानो भएकै कारण सन्तुष्ट बनाउन सकिँदैन कि, यसकै कारण घरबारै बिग्रन्छ कि भन्ने चिन्ताले सताइरहेको छ उनलाई ।

सेक्ससम्बन्धी भ्रम, अन्धविश्वास या कुण्ठाका यस्ता हजारौँ केस छन् । यौन भ्रमको वृक्ष झ्यागिदै जाँदा मानिसहरू रोगी भइरहेका छन् । खुम्चेर बाँचिरहेका छन् । युगौँदेखि यौन उदार कहलिएका अमेरिकी र युरोपेली समाजमा पनि पर्याप्त यौन भ्रम छन् भने हामीकहाँ त सेक्सका बारेमा कुरा गर्न बल्ल सुरु गरिएको छ । भनिन्छ, सेक्ससँग सम्बन्धित ९० प्रतिशत समस्या मनोवैज्ञानिक हुन्छन् ।

'बेड'मा जाँदा पुरुष 'ब्याटल' मा गए जसरी जानु र सेक्सलाई विजय/पराजयको विषय बनाउनु पुरुषप्रधान मानसिकता (मेल सौभनिजम) को प्रतिविम्ब हो । गुलाब बोक्नुपर्ने कोमल अवस्थामा बन्दुक बोकेपछि के हुन्छ ? असन्तुष्टि र हीनताबोधबाहेक के नै हात लाग्छन् र ?

नेपाली समाज यौनका मामिलामा उदार बन्दै छ । यो उदारतासँगै सेक्ससम्बन्धी पर्याप्त भ्रम र अन्धविश्वास पनि हुर्काएका छौँ हामीले । हाम्रो सेक्स लाइफ निकै बोझिलो भएको छ । अधिकांश समय सेक्सकै बारेमा चिन्ता गरेर बिताइरहेका छौँ । आफ्नो यौनांगको साइज, यौन सम्पर्कको अवधि, दुब्लो-मोटो शरीर, स्तनका आकारलगायत भ्रमै भ्रमको महाजालमा हाम्रो सेक्स लाइफ अल्झिएको छ, बल्झिएको छ ।

पूर्वीय दर्शनले 'आहार, निद्रा, भय र मैथुन'लाई उहिल्यै मानव जीवनका अनिवार्य तत्‍व घोषणा गरिसकेका हुन् । तर, सेक्सलाई जहिले पनि छोपेर राख्नाले हाम्रो यौन जीवन निरस र पट्यारोलाग्दो भएको छ । दिनभरि 'हर्षमान्' बने पनि राती ओछ्यानमा आँशुका 'वर्षमान्' धेरै छन् यहाँ । पत्रपत्रिकामा आउने यौन जिज्ञासा र यौन विशेषज्ञका क्लिनिकमा लाग्ने ताँतीले यस सत्यलाई सोह्रै आना पुष्टि गर्छन् । लज्जा र हीनताबोधका कारण गुपचुप बस्ने, डराएर र खुम्चेर बाँच्ने त कति छन्, कति !

यौन विशेषज्ञ या मनोविज्ञसँग सामान्य परामर्श गरेर आफूभित्रका भ्रम निवारण गर्दा यौन जीवन हरिलोभरिलो हुन्छ भन्ने ज्ञान साह्रै थोरैलाई मात्रै छ। यौनसम्बन्धी बिहान पढेको कुरा बेलुका श्रीमतीसँग सहवास गर्ने बेलामा भुल्ने जमात पनि सानो छैन।

सहवासलाई युद्ध र खाटलाई युद्धमैदानका रूपमा लिने गलत मानसिकताका कारण पनि अधिकांशको यौन जीवन बर्बाद भएको छ। यौन सम्पर्कका बेला पुरुष हाबी हुनैपर्छ, श्रीमती वा पार्टनर सन्तुष्ट हुन सकिनन् भने त नामर्द नै भइन्छ भन्ने स्कुलिङका कारण हरेक पुरुष यौन सम्पर्कका बेला योद्धाको मानसिकतामा हुन्छ। पुरुषप्रधान मानसिकता कति चर्को छ भने सेक्समा श्रीमती या पार्टनरलाई 'हर्ट' गरेर 'सन्तुष्टि' दिन सकिएन भने पुरुषको 'इगो' मर्माहत हुन्छ। यसैका कारण जिन्दगीको सबैभन्दा ठूलो आनन्द सबैभन्दा ठूलो पीडा बनेको हुन्छ, धेरैका सन्दर्भमा।

मनोचिकित्सक डा. रवि शाक्य भन्छन्, 'सेक्स भनेको ९० प्रतिशत मानसिक कार्य हो, १० प्रतिशतमात्रै शारीरिक कार्य हो। जबसम्म हामी मानसिक रूपमा आफूलाई फिट राख्न सक्दैनौँ, तबसम्म हामी सेक्समा सन्तुष्टि प्राप्त गर्न सक्दैनौँ।'

सेक्स भनेको कला पनि हो। यस कलालाई जसले राम्रोसँग ह्यान्डल गर्न सक्छ, उसैले आनन्द उठाउन सक्छ। सेक्सलाई जटिल ठान्नेहरूको जीवन जहिले सदा तनावमा बित्छ। डा. शाक्य भन्छन्, 'दिमागमा रहेका अनावश्यक भ्रम नहट्दासम्म स्खलितमात्रै हुन सकिन्छ, सेक्सको असली आनन्द लिन सकिन्न।'

सेक्स सम्बन्धी केही भ्रम

कुमारीत्व : आफूले बिहे गरेर भित्‍याएकी श्रीमती कुनै पनि हालतमा कुमारी नै हुनुपर्छ भन्ने मान्यता धेरै पुरुषमा हुने गर्छ। बिहेको पहिलो रात सहवास गर्दा श्रीमतीको योनीबाट रगत बग्नुपर्छ भन्ने भ्रम राख्नेहरू धेरै छन्। सेतो तन्नामा रगतको टाटो बस्यो भने मात्र श्रीमती कुमारी रहिछ भनी मान्नेहरू यही समाजमा छन्। तर, यो सोह्रै आना गलत हो। चिकित्सकका अनुसार को कुमारी हो, को कुमारी होइन, प्रमाणित गर्न निकै गाह्रो छ। योनी मार्गमा हुने एक प्रकारको झिल्ली, जसलाई हाइमन भनिन्छ, त्यो पहिलो पटक यौन सम्पर्क गर्दा च्यातिन्छ र रगत बग्छ भन्ने भ्रमका आधारमा कुमारीत्वको मापन गर्ने विधि अव्यवहारिक र मूर्खतापूर्ण भएको बताउँछन् चिकित्सक। वीर अस्पतालकी यौन तथा चर्मरोग विशेषज्ञ डा. अनुपमा कार्की कुमारीत्वको मापन गर्न नसकिने बताउँछिन्। भन्छिन्, 'हाइमनको आधारमा को कुमारी हो, को होइन, त्यो मेडिकल्ली प्रमाणित गर्न गाह्रो छ।'

साइकल चढदा, कसरत गर्दा, उफ्रँदा, हस्तमैथुन गर्दा पनि हाइमन च्यातिन सक्छ। धेरैजसो युवतीमा हाइमनले पूरै योनीमार्ग ढाकेको पनि हुँदैन। यो चन्द्राकारको पनि हुन्छ। यस्तो आकारको हाइमन भएकाहरूको बच्चा जन्माइसकेपछि यो झिल्ली ज्युँका त्युँ रहन्छ। 'त्यसैले यसलाई आधार बनाएर कुमारीत्वको बारेमा सोच्नु भनेको सेक्स लाइफलाई सदाका लागि बर्बादीतिर धकेल्नु हो,' मनोचिकित्सक डा. शाक्य भन्छन्। 'बिहे नभएकी केटी'- बस्, कुमारीको परिभाषा यही हो।

हस्तमैथुन : नेपालीहरूमा रहेको हस्तमैथुनसम्बन्धी भ्रमले चिकित्सकहरूको पनि टाउको खाइसक्यो। यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ। माता मनकामना आरोग्य केन्द्र र सेक्सोलोजिस्ट डार्क्टस क्लिनिकमा आबद्ध डा. बद्री गौतमका अनुसार हस्तमैथुन नगरी पनि बस्न नसक्ने, गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ। 'म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै आउनेहरू पनि प्रशस्तै छन्,' उनी भन्छन्।

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ। १०० थोपा रगत बराबर १ थोपा वीर्य हुन्छ भन्ने मान्यता छ। यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन्। यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ। पछिल्लो समयमा चिकित्सकहरूले 'धात सिन्ड्रोम' भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन्। बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्ररित गरिएको छ। चिकित्सकका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो। पिच्च-पिच्च थुकिरहे पनि मुख सुख्खा हुने गरि कहिल्यै सुक्दैन। वीर्य स्खलन भएर सकिने चिज पनि होइन। अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ। एक अध्ययन अनुसार ९५ प्रतिशत पुरुषले हस्तमैथुन गरेकै हुन्छन्। 'हस्तमैथुनले विवाहपछि यौन जीवनलाई कुनै असर गर्दैन,' डा. गौतम भन्छन्।

लिंगको आकार : लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन्। पोर्न फिल्म हेर्नेहरू फिल्मको जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन्। लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो। यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन। पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ।

पार्टनरलाई चरर्मोत्कर्षमा पुर्‍याउन ग्ल्यान्स ( छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ। डा. विनय वैद्यका अनुसार उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू सेक्समा शतप्रतिशत समर्थ हुन्छन्। 'लिंग सानो हुँदा आनन्द आउँदैन भन्नु सानो जिब्रोले खानाको स्वाद थाहा पाउँदैन भन्नुजस्तै हो ।'
स्तनको आकार : महिला र पुरुष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन्। स्तन सानो भएकी महिला 'श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ' भनेर सोचिरहेकी हुन्छिन् भने पुरुष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ। यी दुवै गलत सोचाइ हुन्। स्तन भनेको कस्मेटिक अंग मात्र हो। यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि सेक्समा यसको साइजले कुनै अर्थ राख्दैन। महिलालाई यौन उत्तेजनामा ल्याउन निप्पलको टुप्पो नै काफी हुन्छ। बाँकी भनेको फ्याट र दूध उत्पादन गर्ने ग्रन्थीहरूको डल्लो मात्र हो।

सेक्स अवधि : सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन। तर, धेरै मानिस अहिले पनि शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर दिन बिताइरहेका हुन्छन्। साथीहरूको बीचमा कुरा हुँदा मेरो त यार कहिले काहीँ एक घण्टासम्म पनि जान्छ भन्दै गफ चुट्ने अनि पोर्न फिल्ममा देखाइएको जस्तै लामो समयसम्म यौन सम्पर्क गर्न खोज्नेहरू थुप्रै छन्।

आफ्नो यौन पार्टनरसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एकदेखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ। तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको सेक्स लाइफ बिग्रन्छ। केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ। त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो, यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ।

दुब्लो मान्छेलाई बढी सेक्स चाहिन्छ : दुब्लोलाई सेक्स बढी चाहिने र मोटोलाई कम चाहिने भन्ने भ्रम पनि छ। तर, यसमा कुनै सत्यता छैन। स्वस्थ मानिस मोटो या दुब्लो जे भए पनि, उसले सेक्सको भरपूर आन्नद लिन सक्छ। कसैलाई स्लिम केटीहरू सेक्सी लाग्छन् भने कसैलाई मोटा। यो व्यक्तिपिच्छे फरक पर्ने कुरा हो। त्यसैले मोटा जति सबै सेक्स नै नगरी बस्छन् भन्ने होइन। बाटोघाटोमा मोटो मानिस देख्नेबित्तिकै यसले कसरी सेक्स गर्ला भनेर हाँसो गर्नेहरू ठूलो भ्रमको शिकार भएका हुन्छन्।

पुरुषलाई भन्दा महिलालाई बढी सेक्स चाहिन्छ भन्ने पनि गरिन्छ। तर वास्तविकता त्यस्तो होइन। हरेक व्यक्तिको यौन चाहनाको मात्रा फरक-फरक हुन्छ। महिलालाई बढी र पुरुषलाई कम भन्ने कुरा आउँदैन। तर, सुगर, ब्लडप्रेसर या डिप्रेसनजस्ता रोग भएकाहरूलाई सेक्स चाहना कम हुन्छ।

महिनावारीमा सेक्स गर्नुहुँदैन : हाम्रो समाजमा रजस्वला भएकी महिलालाई छुनै हुँदैन भन्ने मान्यता अहिले पनि प्रबल छ। रजस्वला भएको बेला महिलामा यौन चाहना झन् बढेको हुन्छ। यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलाले बढी चरमसुख पाउन सक्छिन्। योनीबाट धेरै नै रगत बगेको छ र रगत देख्दा घिन मान्नेहरूले यौन सम्पर्क गर्न सक्दैनन्। 'मनमा अलिकति पनि शंका उब्जिएका बेला यौन सम्पर्क गर्दा रमाइलो नहुने भएकाले मनबाट सबै शंका हटेको खण्डमा यस्तो अवस्थामा ढुक्कसँग यौन सम्पर्क गर्दा हुन्छ,' डा. अनुपमा कार्की भन्छिन्, 'लिंगमा कुनै संक्रमण छ भने चाहिँ कन्डम प्रयोग गरेर यौन सम्पर्क गर्नु राम्रो हो।'

रक्सीले सेक्स अवधि बढाउँछ : मदिराको मातमा सेक्स गर्दा दिव्य आनन्द प्राप्त हुन्छ भन्ने अन्धविश्वास भएका धेरै छन्। यो सरासर गलत हो। ठिक्क पिएको अवस्थामा कसैको मनको संकोच हटाउन रक्सी सफल भए पनि यसले सेक्सलाई गतिलो या भव्य बनाउँछ भन्ने होइन। रक्सी खाएपछिको सेक्सका तीनटा चरण हुन्छन्। डा. बद्री गौतमका अनुसार ठिक्क रक्सी खाएको अवस्थामा यसले संकोच हटाएर यौन सम्पर्कका लागि तयार पार्न मद्दत गर्छ। तर स्खलनको अवधि बढाउने चाहिँ होइन। डा. रवि शाक्य भन्छन्, 'रक्सी खाएपछि लिंगको संवेदनशीलता हराउँछ र योनीभित्र लिंग प्रवेश गराउँदा धार फर्केको भुत्ते खुकुरी मासु थुंगेजस्तै हुन्छ।'

गर्भधारणपछि सेक्स गर्नुहुँदैन : गर्भधारणपछि महिलाले सेक्स गर्नुहुँदैन भन्ने भ्रम व्याप्त छ। यस बेला महिलाले बिना कुनै संकोच सेक्स गरे हुन्छ । डा. रवि शाक्य भन्छन्, 'गर्भवती महिलाले सेक्स गर्दा कुनै गर्भको बच्चा र उनको स्वास्थ्यमा कुनै असर पर्दैन। बरु, नियमित सेक्सले उनलाई बच्चा पाउन सजिलो हुनसक्छ। पेटमा दबाब पर्ने गरी भने सेक्स गर्नुहुँदैन। यौनासन परिवर्तन गर्नुपर्छ। पुरुष माथि महिला तल हुने आसनभन्दा छड्के या पछाडिबाट सेक्स गर्ने आसन उपयुक्त हुन्छ।'

बच्चा पाएपछि योनी खुकुलो हुन्छ : बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन्। बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ। डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ। डा. बद्री भन्छन्, 'योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ। यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ।'

हिजोआज दुईचार हप्तामै लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन्। यो भ्रमको खेतीबाहेक केही पनि होइन। ह्यान्डमसम अप, २४ होर्मोटेसजस्ता उत्पादनका विज्ञापन भइरहेका छन्। तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने कुनै पनि प्रोडक्ट हुँदैनन्। ओशोले भनेका थिए, 'संसारमा सबैभन्दा बढी शोषण कुण्ठित मानिसको हुन्छ।' यस्ता विज्ञापन पनि भ्रमित र कुण्ठित मान्छेको शोषणका लागि भइरहेका छन्। यौन विशेषज्ञ र मनोविज्ञसँग थोरै परामर्श गरेपछि सेक्ससम्बन्धी भ्रम र अन्धविश्वासबाट मुक्त हुनेबित्तिकै हाम्रो यौन जीवन रसिलो र सुखमय हुनथाल्छ। बस्, भ्रमको ओखती गरौँ।

About the Author

manita thapa

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
All Video and Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism